Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक


काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल लगत संकलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले जनाएको छ ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्ड र सूर्यविनायकदेखि साँगासम्मको ठेक्का दुई चरणमा सम्झौता भएको हो।

सडक विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ रहेको छ । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ ।

उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ। यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नु पर्नेछ।

सडकको बीचबाट दायाँबायाँ २५र२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत संकलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत संकलन कार्य थालिएको हो ।

यस सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम हुने जनाइएको छ। आयोजनाका सिनियर डिभिजन इञ्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत उक्त सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने बताए।

‘उक्त क्षेत्रमा २५ गज नै कायम हुनेछ, तर २५ मिटर र २५ गज अन्तरको क्षेत्रफलको मुआब्जा पनि दिन सकिनेछ,’ उनले भने । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर रहेको छन् ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई कायम गर्‍यो । यही आधारमा सडक दायाँबायाँ घर बनेको बनेपाका लम्बोदर कायस्थ बताउँछन् ।

तत्कालीन सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले पनि त्यही आशयको फैसला सुनायो। त्यतिबेलाको नापी–नक्सा परिमार्जन गर्दै अहिले मेट्रिक प्रणालीमा सरकारले २५ गजलाई २५ मिटर अर्थात् ८२ दशमलव पाँच फिट हुने सूचना जारी गरे पनि बनेपा नगर क्षेत्रभित्र भने २५ गज अर्थात् ७५ फिटलाई नै मान्यता दिइएको बताइन्छ।

बनेपाका नगरप्रमुख शान्तिरत्न कायस्थले साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्मको सडकखण्डमा २५ गज नै कायम हुने बताए । ‘हामी पुरानै निर्णय तथा राजपत्रमा प्रकाशित सूचनाअनुसार नै सडक व्यवस्थित गराउनेछौँ,’ उनले भने।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो। पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यकपर्ने भएकाले एक अर्ब रुपैयाँ लागत लाग्ने आयोजनाको अनुमान छ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिने जनाइएको छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ ।

उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो।

आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाने लेन नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन्।

उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ। आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माण स्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो।

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ। हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ। आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने जनाइएको छ । संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौं आवतजावत गर्दछन् । रासस


Read Previous

निर्माण सम्पन्न नहुँदै जीर्ण बन्यो बागलुङ संग्रहालय

Read Next

भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *