Nepal Purbadhar

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

निजगढ विमानस्थलको विकल्प छैन -विज्ञ


काठमाडौं । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । “अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नैपर्छ” उनले भने ।

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका थियो । उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पार्नुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गरेका थिए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गरे ।

सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनःचर्चाको विषय बनेको हो ।

क्यानका पूर्वमहानिर्देशक गौतमका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । एक करोड यात्रु क्षमताको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष नै ७३ लाख यात्रु पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक १० लाख यात्रु क्षमता हो । भैरहवाको सबै सुविधा भएमा लगभग वार्षिक एक करोड यात्रु व्यवस्थापन गर्न सकिन्छ ।

“यही दरमा ट्राफिक ग्रोथ हुने हो भने हामीलाई निजगढ विमानस्थल निर्माण नगरी सुखै छैन”, उनले भने । निजगढ विमानस्थल बनेको भए पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अवस्था नआउने उनको भनाइ छ । दुई विमानस्थलमा लगानी भएको खर्चले निजगढ विमानस्थल बन्नेछ ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम पनि देशभित्र पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउँछन । “नेपालमा अहिलेसम्म ‘फुल फ्लेज इन्टरनेश्नल एयरपोर्ट’ छैन । ‘प्यारालल रनवे’सहितको पूर्ण क्षमताको विमानस्थलमा आफ्नै ‘एयर स्पेस’ मा उडान र अवतरण गर्नसक्ने विमानस्थल छैन, त्यसैले निजगढ विमानस्थल आवश्यकता हो”, उनले भने।

उनले नेपालको आर्थिक विकासका लागि पनि यो विमानस्थल निर्माण अपरिहार्य भएको भन्दै काठमाडौँको विकल्प भैरहवा र पोखरा नभएको बताए । यही माघ १३ गते राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा निजगढ विमानस्थल निर्माणबारे विज्ञहरुसँग छलफल भएको थियो । उक्त बैठकमा विज्ञहरुले निजगढ विमानस्थल निर्विकल्प आयोजना रहेकाले तत्काल अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।

निजगढ विमानस्थलको निर्माण प्रक्रिया पनि विवादरहित छैन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई सर्वोच्च अदालतको आदेशले निर्माण अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गीत भएको थियो ।

सर्वोच्च अदालतको पूर्ण फैसलामा पनि विकल्प खोज्न भनिएको थियो । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलियो । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निजगढ योजनालाई अघि बढाउने सरकारको योजना छ ।

पर्यटन मन्त्रालय र मातहतको नियामक क्यानले यो आयोजनालाई अघि बढाउने लक्ष्यसहित छलफल चलाइरहेको छ । सरकारले पनि राष्ट्रिय महत्वको आर्थिक विकासमा दूरगामी असर पार्ने आयोजना भएकाले निजगढ विमानस्थल अघि बढाउने निर्णय गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ । सङ्घीय संसद्को संयुक्त बैठकमा यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भनिएको छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत् आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ ।

निजगढ विमानस्थल निर्माणका लागि हालसम्म झण्डै ३ अर्ब खर्च भइसकेको छ । वन र वातावरणको विषयलाई लिएर विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिएन । यसैबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको गत जेठ १६ गतेको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको थियो ।

लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष छ । यो विमानस्थलमा प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको र त्यस क्षेत्रमा आठ हजार ५० हेक्टरभन्दा बढी जग्गा विमानस्थलका नाममा आइसकेको छ ।

विमानस्थलको चार किल्ला तोकेर तारबारको काम भएको छ । विमानस्थललाई लक्षित गरेर निर्माणाधीन द्रुतमार्गमा हालसम्म रू दुई खर्ब खर्च भइसकेको छ । विमानस्थलको गुरुयोजना तयार भई, वातावरणीय प्रभाव मूल्याङ्कन पनि बनिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि नबढे दीर्घकालीनरुपमा देशको समग्र अर्थतन्त्रमा घाटा हुने भन्दै निर्विकल्परुपमा निजगढ विमानस्थल आयोजनालाई अघि बढाइनुपर्ने बताए ।

पूर्वाधारविद् डा सूर्यराज आचार्यले सबै हिसाबले उपयुक्त निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अवरोध गर्न नहुने भन्दै यो आयोजनालाई सरकारले यथाशक्य कानुनी अड्चन हटाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले हल्ला गरिएको जस्तो वातावरण विनाश नहुने भन्दै विकास र वातावरणको सन्तुलन कायम गरेर कमभन्दा कम क्षति हुनेगरी आयोजना अघि बढाउनुपर्ने खाँचो औँल्याए । हवाई नीति २०६३ का छ वटा उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ ।

कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ । विसं २०५० देखि सुरु गरिएको अभ्यास तीन दशकमा पनि प्रक्रिया अघि नबढ्नु मुलुकका लागि बिडम्वना भएको विज्ञ बताउँछन् ।

के छ निजगढको विशेषता ?

निजगढ विमानस्थल राजधानी काठमाडौँबाट एक घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठह¥याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ ।

चुरे र सीमाबाट अवतरण गर्न सकिने तथा शून्य भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने र सबै हिसाबले उपयुक्त विमानस्थल भएको प्राधिकरणको भनाइ छ ।

चार हजार मिटर लामो र फराकिलो धावनमार्ग हुने निजगढ विमानस्थल निर्माणपछि वार्षिक छ करोड यात्रुको चाप थेग्ने विश्वास गरिएको छ । यो विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित डेढ खर्ब रुपैयाँ लाग्ने जनाइएको छ । रासस


Read Previous

कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

Read Next

५ वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

Leave a Reply

Your email address will not be published.