
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेल, भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सरकारको राजस्व संकलन गर्ने प्रमुख निकाय भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि मंगलबार अर्थ मन्त्रालयमा भेट गर्दै मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्।
उनले व्यावसायिक वातावरण र व्यवसायीको मनोबल उच्च राख्दै ‘मिसन १६ खर्ब राजस्व’ सफल बनाउन इमानदारीपूर्वक काम गर्न आग्रह गरे। साथै राजस्व चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताए।
अर्थमन्त्री वाग्लेले भन्सार र राजस्व प्रशासनलाई सूचना प्रविधिमैत्री, चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिएका छन्।
उनका अनुसार भन्सार र करबाट हुने आम्दानी बढाएर मुलुकको आन्तरिक आय बलियो बनाउन सके बाह्य ऋणमाथिको निर्भरता घट्नेछ र आफ्नै स्रोतका आधारमा विकासलाई गति दिन सकिनेछ। उनले राजस्व लक्ष्य हासिल गर्ने क्रममा व्यावसायिक वातावरण सुधार र प्रणालीभित्रका चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
मन्त्री वाग्लेले मातहतका कार्यालयमा अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था गरिने जानकारी दिन पनि निर्देशन दिए।
प्रशासन संयन्त्रमा सक्षम र परिणाममुखी मानिएका दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएका निकायको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै उनले आगामी ६ देखि ८ महिनाभित्रै सकारात्मक नतिजा देखिने विश्वास व्यक्त गरे।
असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। त्यसपछि असार २२ गते मन्त्रालयमा हाजिर भएका उनीहरूलाई क्रमशः भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक र भन्सार विभागका उपमहानिर्देशकको जिम्मेवारी दिइएको थियो।
नयाँ जिम्मेवारी पाएका तीनै अधिकारीले मन्त्रीको निर्देशन इमानदारीपूर्वक कार्यान्वयन गर्दै राजस्व संकलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने बताएका छन्।
