
एजेन्सी । चीनको शाङ्घाई अटो शोमा एमजीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’ सार्वजनिक गरेको छ ।
यो कम्पनीको ‘साइबर’ श्रृंखलाको दोस्रो मोडेल हो, जसको पहिलो मोडेल ‘साइबरस्टर’ नोभेम्बर २०२३ मा लन्च भएको थियो ।
साइबर एक्सले पुरानो युगको डिजाइनलाई आधुनिक प्रविधिसँग मिसाएको छ । यसको बॉक्सी बडी डिजाइन, मैट ब्ल्याक एक्सटेरीयर र विशेष गरी पप-अप हेडलाइट्स -जसले प्रयोगमा हुँदा बाहिर निस्कन्छ र नचल्दा शरीरभित्रै समाहित हुन्छ । यसलाई अन्य एसयूभीहरूबाट अलग बनाउँछ ।
यो अनोठो डिजाइन स्लोभाक डिजाईनर जोजेफ काबानको सिर्जना हो । जसले पहिले भक्सावागन,बिएमडब्लु र रोल्स रोयसमा काम गरिसकेका छन् । उनले २०२४ अप्रिलमा साइक मा प्रवेश गरेर अहिले एमजी ब्रान्डको सम्पूर्ण डिजाइन जिम्मेवारी सम्हालिरहेका छन् ।

गाडीमा स्मोक्ड ब्ल्याक ए र बी पिलरहरू छन्, जसले साइडबाट हेर्दा गाडीको छानो तैरिएको जस्तो देखिन्छ । थप आकर्षक बनाउने तत्वमा सिल्भर र ब्ल्याक टु-टोन पाँच-स्पोक ह्वीलहरू समावेश छन् । गाडीको इन्टेरियर र कनेक्टिभिटी फिचरहरू स्मार्टफोन निर्माता ओप्पोको सहकार्यमा तयार पारिएको हो ।
एमजी, जुन कहिल्यै ब्रिटिश कम्पनी थियो, अहिले चिनियाँ कम्पनी साइक मोटर अन्तर्गत रहेको छ । हालसम्म साइबर एक्सको प्राविधिक विवरण वा मूल्य सार्वजनिक गरिएको छैन, तर सन् २०२५ मा यसको सार्वजनिक लन्चको तयारी भइरहेको जनाइएको छ ।
एमजीले आगामी दुई वर्षभित्र ८ नयाँ इलेक्ट्रिक मोडेलहरू ल्याउने योजना बनाएको छ । जसमा ठूला एसयूभी, सेडान र स्पोर्ट्स कारहरू समावेश छन्। साइबर एक्स बाहेक २०२५ मा एउटा ठूलो पाँच सिट क्षमताको एसयूभी र एउटा कम्प्याक्ट इलेक्ट्रिक सेडान पनि लन्च गरिनेछ ।
यता, मार्चमा एमजीले एमजी फोर नामको सानो ह्याचब्याक सार्वजनिक गर्दै आफ्नो पहिलो ग्लोबल ईभीको घोषणा गरिसकेको छ । चीनमा यसको लन्च दोस्रो त्रैमासिकमा र युरोपमा वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको छ ।
एमजीको बजार पनि बढ्दो क्रममा छ । मार्च महिनामा मात्र चीनमा १०,००० युनिट गाडी बिक्री भएको छ, जुन गत वर्षको तुलनामा ८२.६% वृद्धि हो ।