
काठमाडौं। काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको यमबुद्ध स्केटबोर्ड पार्कको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यकालमा शुरू गरिएको यो परियोजना लामो प्रतीक्षा र विभिन्न अवरोध पार गर्दै अन्तिम अवस्थामा पुगेको हो।
महानगरले शुरूदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखे पनि उपयुक्त जग्गा अभावका कारण योजना अघि बढ्न सकेको थिएन। शुरूमा वडा नम्बर १६ मा पार्क निर्माण गर्ने तयारी गरिएको थियो। तर तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि आवश्यक जग्गा प्राप्त गर्न समस्या भएपछि योजना केही समय रोकिएको थियो।
पछि काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि निर्माण कार्य शुरू गरिएको हो।
पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ क्षेत्र निर्माण गरिएको छ, जहाँ र्याम्प्स, बोल्स र स्ट्रिट्स समावेश छन्। साथै बालबालिकाका लागि खेलमैदान, खुला व्यायामशाला (ओपन जिम), शौचालय ब्लक र भलिबल कोर्टसमेत निर्माण गरिएको छ।
महानगरपालिकाका अनुसार यो परियोजना युवाहरूको सिर्जनात्मक संस्कृति प्रवर्द्धन गर्ने, कला र सङ्गीतलाई प्रोत्साहन गर्ने तथा परिवारमैत्री सामुदायिक स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको हो।

