Nepal Purbadhar

टुँडिखेललाई हरियालीयुक्त खुला स्थल बनाउने काम तीव्र

टुँडिखेलमा हरियालीयुक्त र व्यवस्थितका लागि काम गर्दै कामदारहरू। तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी


काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई हरियालीयुक्त र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने कामलाई तीव्रता दिएको छ।

महानगरले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको जनाएको छ।

महानगरपालिकाका अनुसार उक्त क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखिनेछ भने ‘बरमुढा ग्रास’ दुबो रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ। ठेक्का सम्झौता भने २ करोड ७० लाख रुपैयाँमा गरिएको महानगरले जनाएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ निर्माण गरिनेछ। महानगरपालिकाले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै खुला र सार्वजनिक उपयोगलाई प्राथमिकता दिइएको जनाएको छ।

महानगरका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रम सञ्चालनका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने महानगरपालिकाले जनाएको छ।


Read Previous

माथिल्लो डोल्पामा सेवा विस्तारसंगै ७५० स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी

Read Next

पश्चिम जाजरकोटका पक्की पुल निर्माण: केही गति लिँदै, केही आयोजना अझै अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar