

काठमाडौं । काठमाडौंको बल्खुमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलीले गरेको चेकिङको क्रममा ‘ह्याण्ड ब्रेक’ नभएका २२ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रणमा लिएकामध्ये १४ ओटा टाटा सुमोलाई आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ ओटा ट्राफिक प्रहरी प्रभाग किर्तिपुरमा राखिएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सम्भावना उच्च रहन्छ । यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको कमाण्डमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको थियो ।
अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले १५ भदौ देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तीव्रता दिदै आएको छ ।