

ललितपुर। ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले जनताको आंकक्षा अनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभा शुक्रवार उद्घाटन गर्दै मन्त्री भुसालले जनता सहभागिता नभएको विकास सफल नहुने र त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्नेमा जाेड दिइन ।
आफूले बुङ्मतिका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन ।
नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तिब्रताका साथ अगाडि बढाएको र आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय रहेको बताइन । बुङ्मतिका हरेक घरमा एक कोठा घरबास (होम स्टे) का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्नेमा जाेड दिइन ।
बुङ्मतिका कलासंस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्ने बताइन ।
कार्यक्रममा बागमति प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी समाजका पदाधिकारीले समाजको विकास र रुपमान्तरणमा सहयोग गर्न राजनीतिक दल एवं समाजका अगुवालाई आग्रह गरे ।