

काठमाडौ । बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले विद्युतमत देश बनाउन आह्वान गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले शुक्रबार आयोजना गरेको विद्युत खपत वृद्धि सम्बन्धी मह जोडीद्धारा निर्मित विज्ञापन तथा ’एनइए मोबाइल एप’ सार्वजनिक कार्यक्रममा उनीहरुले यस्तो वताएका हुन । देशलाई विद्युतय बनाएर नेपालमा रहेको इन्धन आयातको भयावह अवस्थाको अन्त्य गर्न तथा घरको भान्सादेखि यातायातसम्मका लागि पनि विद्युत उपयोग बढाउन आग्रह गरे । ‘देशभरि विद्युतको उपयोग बढाएर देशलाई विद्युतीयमय बनाउनुपर्छ ।’–उनीहरुले भने–‘अब जताततै विद्युतनै विद्युतको उपयोग बढाउनुपर्छ ।’
अहिले पनि ठूला जलविद्युत आयोजनाहरु बनाउनु हुँदैन भन्ने मान्छेहरु रहेको बताउँदै उनीहरुले जलविद्युत बनाएर स्वदेशमा खपत बढाउन तथा विदेशमा बिजुली बेचेर पैसा कमाउनका लागि लाग्नुपर्ने बताए ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले मन्त्रालयले विद्युत खपतका लागि विशेष कार्यक्रम अघि बढाएको बताइन ।
ऊर्जा विज्ञ प्राध्यापक डाक्टर अमृतमान नकर्मीले ग्याँसभन्दा बिजुली धेरै सस्तो भएकोले विद्युतीय चुल्होमा खान पकाउन सबैलाई आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साढे दुई महिनाभित्र ६ अर्बको बिजुली विक्री गरेको र पाँच बर्षभित्र २ खर्बको विक्री गर्ने बताउँदै स्वदेशी खपत वृद्धिका लागि समेत विशेष अभियान अघि बढाएको बताए ।
विद्युत प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत खपतका लागि आवश्यक पूर्वाधारको प्रबन्ध प्राधिकरण गरिसकेको र थप पूर्वाधार निर्माणक ालागि लागिरहेको बताए ।
सो अवसरमा ग्राहकले आफ्नो मोबाइलबाट घर तथा अफिसमा बसेर बिजुलिको बिल तिर्न सक्ने एप पनि सार्वजनिक गरिएको थियो ।