

काठमाडाैं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विगत लामो समयदेखि थाती रहेको रोड सेफ्टी राष्ट्रिय योजना जारी गर्ने प्रक्रिया पुनः अगाडी वढाएको छ ।
संसारभर नै समस्याको रुपमा रहेको सडक दुर्घटना न्यूनीकरण गर्न संयुक्त राष्ट्र संघले गत वर्ष मात्र ‘ग्लोबल एक्शन प्लान’ जारी गरिसकेको छ । सोही ग्लोबल प्लानमा सदस्य राष्ट्रको रुपमा नेपालले पनि अन्तराष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेको छ । त्यसैअनुरुप यस दशक २०२१–३० मा सवारी दुर्घटनाबाट हुने मृतक र घाइतेको संख्यामा न्युनतम आधा घटाउने लक्ष्य रहेको छ ।
नेपालले सन् २०३० सम्मलाई लक्षित गरि कार्य योजनाका लागि सरोकारवाला र विज्ञहरु समेतको बैठक यसै हप्ता काठमाडौँमा सम्पन्न गरेको छ । मन्त्रालयले विश्व बैंकको सहयोगमा २ बर्ष अगाडीदेखि परामर्शदाता नियुक्ति गरि योजनाको मस्यौदासमेत तयार गरिसकेको छ ।
सवारी दुर्घटनासँग चासो राख्ने पेशागत संगठन, अभियन्ता, नागरिक समाज तथा पिडित समेतले छिटो कार्य योजना जारी गर्न दवाव दिदै आएका छन् ।
प्रस्तवित कार्य योजनामा पाँच पिलर, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धता समेत समेटिएको छ । गत वर्ष लगभग ३ हजारको मृत्यु, हजारौंको अंगभंग र अपांगता तथा अरबौंको क्षति भएको थियो । यस्तो अवस्थाबाट छुटकारा पाउनमात्र नभई दिगो विकासको लागि समेत दिगो सडक र सुरक्षित सवारीको आवश्यकता रहेको छ ।
बैठकमा मन्त्रालयका उच्च पदाधिकारीहरु विभिन्न निकायको प्रतिनिधित्व गर्ने व्यक्ति र विज्ञ अभियन्ताहरुको समेत सहभागिता रहेको थियो ।