Nepal Purbadhar

आइतवार, अशोज १६, २०७९
Sunday, October 2, 2022

आइतवार, अशोज १६, २०७९
Sunday, October 2, 2022

वित्तीय क्षेत्रका विविध विषयमा अध्ययन गर्न सिबिफिन र एक्यानवीच सम्झौता


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) वीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने विषयमा सम्झौता भएको छ ।

दुई संस्थाबीच भएको सम्झैताका आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गरिनेछ । शुक्रबार यस विषयमा सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने र नीति नियमको प्रभाव मूल्याङ्ककन तथा बहस पैरवी गर्ने उल्लेख छ ।

त्यस्तै, देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्त रुपमा पहल गरिनेछ ।

सम्झौता पत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा मुख्यगरी ७ विषयहरुमा सरोकारवाला पक्षहरुवीच छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने र सुझावहरु सहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गर्ने गरी सम्झौता गरिएको छ ।

त्यसरी तोकिएका विषयमाहरुमा देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरु र समाधानका उपायहरु, बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु, स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार रहेका छन ।

त्यस्तै, औधोगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु, वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनिकरणका उपायहरु र वित्तीय एवं मौद्रिक नीति/नियम/निर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरु छन ।

यसबाहेक चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ ले सृजना गर्न सक्ने समस्या, असर र समाधानका उपायहरु, बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवं मौद्रिक नीति, वैदेशिक व्यापार, एफडीआई सम्बन्धी विषयहरू, पूँजी बजार विकास, नीतिगत प्रभाव मूल्याङ्कनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रिय महत्वका आर्थिक एवं वित्तीय कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महानिर्देशक डा. गोपाल प्रसाद तिवारी र एक्यानको तर्फबाट उपाध्यक्ष सुशील घिमिरे, महासचिव प्रदिप सिग्देल र कोषाध्यक्ष वर्षा बराललगायतको उपस्थिति रहेको थियो ।


Read Previous

३३ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,चालू वर्ष ८ सय मेगावाट ग्रिडमा आउने

Read Next

ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि  पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू

Leave a Reply

Your email address will not be published.