Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या


काठमाडौं । चीनले कोरोना (कोभिड–१९) महामारीको समयदेखि अन्तर्राष्ट्रिय हवाई उडान तथा सीमा नाकाबाट हुने आयात–निर्यातमा कडाई गर्दा त्यसको प्रत्यक्ष मार रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका २ जलविद्युत आयोजनामा परिरहेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण आयातमा भइरहेको सुस्तताले विद्युत उत्पादन तालिका पटक-पटक प्रभावित हुँदै आएको हो ।

चीनले सीमा नाकाबाट हुने निकासीमा कडाई गर्दा कोरोना महामारी सुरु भएको सन् २०१९ देखि सान्जेनका आयोजनामा जडान हुने सबै इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याउन सकिएको छैन । इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनीका कामदार २ वर्षपछि नेपाल फर्किएर आयोजना स्थलमा परिचालन भए पनि आवश्यक सबै उपकरण आइनसकेकाले काम सुस्त गतिमा भइरहेको प्रवर्द्धक सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार ढुंगेलले बताए ।

‘विद्युतगृहमा जडान हुने उपकरण डेढ वर्ष तिब्बतमा रोकिएपछि बल्ल-बल्ल आउने बाटो खुलाइयो,’उनले भने, ‘तर, सीमा नाकामा हुने कडाइले अहिलेसम्म पनि शतप्रतिशत उपकरण ल्याउन सकिएको छैन । यही कारण हामीले लक्ष्यअनुसार आयोजनाको काम सम्पन्न गर्न सकेनौं ।’ उनले सुस्त गतिमा आयोजना स्थलमा आइरहेका उपकरण जडान पनि त्यही गतिमा मात्र भइरहेको बताए ।

जडान गर्ने उपकरण नै आइनसकेकाले ठेकेदार कम्पनीका सबै कामदार तथा प्राविधिक पनि नेपाल आइनसकेको उनले बताए । उपकरण छिटो आयात गर्न चीनियाँ दुतावासदेखि परराष्ट्र मन्त्रालय सबैतिर धाउँदा समेत आयात ढुवानीको समस्या समाधान हुन नसकेको ढुंगेलले बताए ।

इलेक्ट्रोमेकानिकलतर्फ उपकरण आयात तथा जडानमा ढिलाइको समस्या दुवै आयोजनाले भोगिरहेका छन् । पछिल्लो तालिका अनुसार १४.८ मेगावाटको माथिल्लो सान्जेनबाट आगामी भदौदेखि विद्युत उत्पादन गर्ने समय तोकिएको छ । तर, आयोजनामा उपकरण जडानको काम सम्पन्न भइनसकेको हुँदा यो तालिका पनि प्रभावित हुने अवस्था आउन लागेको उनले बताए ।

माथिल्लो सान्जेनको ९६ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ । सान्जेन आयोजना पनि ८६ प्रतिशत सम्पन्न भइसकेको छ । यी आयोजनाको निर्माण २०६९ सालबाट सुरु भएको हो । यी दुवै आयोजना निर्माण सम्पन्न भई अहिलेसम्ममा सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, उपकरण आयात लगायतका समस्याले दशक बितिसक्दा पनि यी आयोजना सम्पन्न हुन सकेका छैनन् ।

चिलिमे-त्रिशूली प्रसारण तयार नहुँदा विद्युत वैकल्पिक लाइनबाट स्याफ्रुबेँसी पुर्याइने

साञ्जेनका आयोजना निर्माण सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणको चिलिम हब सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता भएको छ । तर, अहिलेसम्म आयोजनाको विद्युत प्रवाह हुने २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन पूरा हुन सकेको छैन । प्राधिकरणले साउनभित्र प्रसारण लाइन सम्पन्न गर्न ताकेता गरेको भए पनि ठेकेदार कम्पनीले प्रसारण लाइन सम्पन्न गरिसकेको छैन ।

प्रसारण लाइनकाे समस्याले समेत सान्जेनका आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने देखिन्छ । सान्जेनका आयोजनाको विद्युत चिलिमे हब सबस्टेसनसम्म पुर्याउने १३२ केभी प्रसारण लाइन भने प्रवर्द्धक कम्पनीले निर्माण पूरा गरिसकेको छ । प्रसारण लाइन तयार नभएपछि चिलिमे जलविद्युत केन्द्रको स्वीचयार्डसम्म अर्को वैकल्पिक लाइन निर्माण गरेर विद्युत प्रवाह गर्ने कुरा आएको ढुंगेलले जानकारी दिए ।

‘अनेकन समस्याले आयोजनाको विद्युत उत्पादन तालिकामा असर गर्दै आइरहेको थियो । अहिले फेरि वैकल्पिक प्रसारण लाइनबाट स्याफ्रुबेंसीसम्म विद्युत लगेर चिलिमेकाे स्वीचयार्डमा जोड्नु पर्ने चुनौती आएको छ’ उनले भने । आयोजनाको विद्युत खेर जान नदिन अहिले चिलिमे हबसम्म निर्माण गरिएको प्रसारण लाइनमा केही किलोमिटर थप गरेर वैकल्पिक लाइन बनाउने योजनामा काम गरिरहेको उनले बताए ।

चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माणमा भएको ढिलाइले सान्जेनसहित १११ मेगावाटको रसेवागढी आयोजनाको विद्युत उत्पादन तालिकामा पनि असर परिरहेको छ ।


Read Previous

नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सुरु

Read Next

‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक हुँदै

Leave a Reply

Your email address will not be published.