

काठमाडौं । सरकारले आगामी आबको बजेटमा काठमाडौदेखि चितवनको यात्रा १ घण्टामा हुने गरी द्रुतमार्ग निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवनसम्म पहिलो चरणमा द्रुतमार्ग निर्माण गर्ने सरकारी योजना छ ।
चितवन रामपुर वुटवल र चितवन, रामपुर पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा अगाडी बढाउन लगानी बोर्ड नेपालमार्फत निर्माण प्रक्रिया अघि बढाइने भएको छ । यसले काठमाडौंदेखि बुटवल र काठमाडौदेखि पोखरासम्मको यात्राअवधि उल्लेख्य मात्रमा घट्नेछ । यस्तै, आगामी वर्षमा ८ सय किलोमिटर नयाँ सडक निर्माण गरिनेछ भने २५७ किलोमिटर स्तरोन्नति गरिनेछ ।
पूर्व पश्चिम राजमार्ग विस्तार गर्न ३० अर्ब विनियोजन
आगामी वर्षको लागि पूर्व पश्चिम राजमार्ग विस्तार गर्न ३० अर्ब ५० करोड विनियोजन गरिएको छ । त्यस्तै, हुलाकी राजमार्गलाई ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन गरिएको छ ।
कर्णाली, कालीगण्डकी र कोसी करिडोरको लागि ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । कालोपत्रे पुग्न बाँकी रहेका जिल्ला सदरमुकामको लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थ मन्त्री जनार्दन शर्माको भनाइ छ । यसबाहेक गल्छीदेखि रसुवागढीसम्मको सडक कालोपत्रे र स्तरोन्नति गर्नको लागि १ अर्ब ८५ करोड विनियोजन गरिएको छ ।
आगामी आबभित्र नागढुंगा सुरुङ छेडिने
आगामी आर्थिक आबभित्र नागढुंगा सुरुङ छेडिनेछ । त्यसको लागि ५ अर्ब २० करोड विनियोजन गरिएको छ । आगामी वर्षको लागि सडक मर्मत सम्भारको लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । रेल र मेट्रो रेलको लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सार्वजनिक यातायातमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था गरिनेछ । त्यस्तै, विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने बजेट बक्तव्यमा उल्लेख छ ।