Nepal Purbadhar

राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई एनएमबि बैंकको प्रोत्साहन पुरस्कार


काठमाडौं । एनएमबि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सहभागी १६ जना खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत यी खेलाडीलाई प्रोत्साहन पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय टोलीमा सहभागी खेलाडीलाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘खेलाडीहरू राष्ट्रका गौरव हुन्,’ उनले भने,‘ खेलाडीको उच्च मनोबल कायम राखी रहन सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौं ।’

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि हस्तान्तरण गरिने पनि केसीले बताए । सन् २०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग–२ को कूल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बिहीबार (आज) भइरहेको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेलिरहेको छ ।

आजको खेलमा जित हात पारेमा नेपाल सोझै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउने छ । यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


Read Previous

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

Read Next

ओझेलमा ढोरपाटनः थपिदै हाेटल र हाेमस्टे, बढ्दै पर्यटक