Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

तीनमुखे झोलुङ्गे पुल: सहज यात्रासँगै अर्थोपार्जनको स्राेत बन्दै


गुल्मी । नेपालका चार धाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्छ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्छ ।

आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झनुहुन्छ स्याङ्जाका स्थानीय अमरप्रसाद कोइराला । उमेरले ७५ वर्ष पुग्नुभएका उनले सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरेको सम्झना भइरहेको बताए । तर, अहिले उनी झोलुङ्गे पुलको भरमा निकै सहज यात्रा गर्छन ।

झोलुङ्गे पुलको कारणले जोखिमपूर्ण यात्रा हटेको कोइरालाले बताए । ‘केही वर्ष पहिले हामी डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।’ स्याङ्जाका स्थानीय कोइरालाले भने, “तीनमुखे झोलुङ्गे पुलले अहिले हामी स्थानीयलाई निकै राहात पुगेको छ ।’ उनलाई गुल्मी मात्र नभई पाल्पा जान पनि एउटै पुलले राहत दिलाएको छ ।

यसको कारण तीन जिल्ला जोडेको तीनमुखे पुल हो । उनले तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा सहयोग पुग्ने बताए । दसैँ र तिहार तीनमुखे पुल अवलोकन गर्ने बढेको सुनाए ।

त्यस्तै, गुल्मीका बलबहादुर दरौजाले तीनमुखे पुलका कारण आवतजावतमा निकै सहज र आन्तरिक पर्यटकको घुइँचो लागिरहेको जानकारी दिए । तीनमुखे नमूना पुलले धेरै राहात गुल्मेलीलाई मिलेको र तीन जिल्लाको सम्बन्ध तीन नदी मिसिएको जस्तै भएको बताए ।

उनले पाल्पा र स्याङ्जा जान रिडीवासीलाई निकै सहज भएको पनि बताए । साथै पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तिन जिल्लाको आवतजावत झनै नजिकिएको सुनाइन । ‘सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल देखेकी थिएँ, तीन जिल्ला जोडेको चीनमुखे पुलले धेरै पर्यटक आर्कषण गर्न सक्छ ।’ उनले नमूना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न पनि सरोकारवाला निकायलाई आग्रह गरिन ।

तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ जोडेको छ । यसले तीन जिल्लाअन्तर्गत यस क्षेत्रका स्थानीयवासीको आवतजावतमा निकै सहजता ल्याएको छ भने पर्यटकीय सम्भावना पनि बोकेको छ ।

झोलुङ्गे पुलको शिलान्यास १५ मङ्सिर २०७१ मा तत्कालीन संविधानसभा सदस्य डा चन्द्र भण्डारीले गरेका थिए । तीन जिल्ला जोड्ने तीनमुखे पुलको परिकल्पना भने तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गरेका हो । पुल मङ्सिर २०७१ बाट निर्माण सुरू भएको थियो ।

झण्डै १० करोड रुपैयाँ लागतले ८ वर्षको समयावधिमा निर्माण सम्पन्न भएको पुल गत वैशाखमा निर्माण सम्पन्न भएको थियो । यसको उद्घाटन हुन बाँकी छ । ‘निर्माणको काम सुरू गरेको ८ वर्षमा तीनमुखे पुलको निर्माण गत वैशाखमा सकेका छौँ’ निर्माण व्यवसायी बमाले भने, ‘अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घाटन गर्ने दिनको प्रतीक्षा गरेका छौँ ।’ उनले बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको जानकारी दिए ।
झोलुङ्गे पुलको लागि तीन जिल्लामा जान कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर रहेको छ । बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ ।

झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय निकै उत्साहित बनेका छन् । पुल निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले तीन जिल्ला जोड्ने तीनमुखे नमूना पुल कूल ९ करोड ८८ लागतमा निर्माण सकेको हो ।

तीन जिल्लामध्येका तीन स्थानीय तहहरू गुल्मीको रूरूक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गर्ने तयारी छ ।

रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालील ज्ञवालीका अनुसार तीनमुखे नमूना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ । विभागसँग समन्वय गरेर तीन स्थानीय तहहरूको सल्लाहमा निर्वाचनपछि उद्घाटनको गरिनेछ ।

पुललाई अझै व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित हुने गरेर काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए ।

–सन्तोष महतारा/ रासस


Read Previous

सडक अलपत्र छाेड्ने ठेकेदारको स्काभेटर र ब्याकहो लोडर नियन्त्रणमा

Read Next

बजेट निकासीसँगै नारायणी नदीमा तटबन्धन बनाउन सुरु    

Leave a Reply

Your email address will not be published.