Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

नेपाल जर्मन मार्टमा कफी र पस्मिना स्टलमा अवलोकनकर्ताको चासो बढी


काठमाडौं । नेपाली निर्यात योग्य वस्तुहरूको अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले शनिवारबाट  ‘ नेपाल-जर्मन मार्ट २२’ शुरू भयो । जर्मन दुतावासको सहयोगमा नेपाल जर्मन चेम्बर अफ कमर्सले आयोजना गरेको उक्त दुई दिने प्रदर्शनी काठमाडौंको ज्ञानेश्वर स्थित दुतावासकै परिसरमा चलिरहेको छ । उक्त प्रदर्शनीमा ४० स्टलहरू राखिएका छन् ।

मेलाको उद्घाटन जर्मन राजदुत थोमस प्रिन्ज र नेपाल जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष अनुप मल्लले संयुक्त रूपमा गरेका थिए । मेला अवलोकन गर्न आउनेहरूको चासो त्याहाँ राखिएका कफी र पस्मिना स्टलहरूमा निकै धेरै देखियो । “पस्मिना र नेपाली कफीमा अवलोकनकर्ताहरूले देखाएको चासोबाट हामी निकै उत्साहित भएका छौं,” नेपाल पस्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले भने ।

दुबै स्टलहरूमा नेपालका लागि जर्मन राजदुत डा थोमस प्रिन्ज लगायत विशिष्ट व्यक्तिहरूले अवलोकन गर्नुका साथै प्रदर्शकहरूसँग कफी र पस्मिनाको गुणस्तर उत्पादन र बजारबारे जिज्ञासा राखेका थिए ।

कफी र पस्मिनाका दुबै स्टलहरूका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले सहयोग गरेको हो । चार वर्षे युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमले कफी र पस्मीनालाई केन्द्रित गरी व्यापार अभिवृद्धि तथा क्षेत्रीय तथा विश्व मूल्य श्रींखलामा सहभागिता बढाइ नेपालमा दिगो तथा समावेशी आर्थिक वृद्धि  तथा गरिबी घटाउने लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्दै आएको छ । आइतवारसम्म चल्ने उक्त प्रदर्शनीमा पस्मिना, कफी, हस्तकला, नविकरणीय ऊर्जा, गलैंचा, चिया तयारी पोशाक लगायतका सामग्रीहरू राखिएका छन् ।

उक्त अवसरमा बोल्दै जर्मन राजदुत प्रिन्जले नेपालको निर्यात प्रवर्द्धनमा यस्ता मेलाले सहयोगी भूमिका खेल्ने बताए । नेपाल जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कोभिडले थलिएका नेपालको निर्यात क्षेत्रलाई यस मेलाले नयाँ जीवन दिन सहयोग गर्ने विश्वास व्यक्त गरे ।


Read Previous

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

Read Next

आइसिटी ल्याबः गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी

Leave a Reply

Your email address will not be published.