Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडाैं ल्याउने तयारी


काठमाडाैं (रासस) । मेलम्ची खानेपानी विकास समितिले कात्तिक महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार तथा तयारीको काम अघि बढाएको छ । मेलम्चीकाे पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने हुँदा यसै महिनाभित्र उपत्यकाकाे धारामा वितरण गर्ने तयारी भइरहेकाे हाे ।

खानेपानी आयोजनाका केही संरचना तथा आयोजना स्थलम्म पुग्ने सडक र पुल नबन्दा ढिलाइ भए पनि तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार स्थायी समाधान नहुँदासम्म बर्खामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था देखिएकाे हाे ।

गत बैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । “यो वर्ष मेलम्ची आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सम्भव भएकाे छ ” उनले भने । बर्खा सकिएकाले अस्थायीरूपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको पनि उनले जानकारी दिए ।

यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरिएकाे थियाे । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान गरिएकाे उनले बताए ।

उनले सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिने बताए । गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्याएकाे थियाे । तुलनात्मकरूपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पठाउन सकिने उनले बताए ।

मेलम्चीकाे संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरेपनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए । गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइएपनि बाढीले बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरूपमा भएपनि पहुँच सडक बनाइने जानकारी उनले दिए ।

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र ५/५ वर्षमा मर्मत गर्नुपर्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक देखिएकाे हाे ।

मेलम्ची आयोजना दीर्घकालीनरूपमा मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरूपमा मर्मत र सुधारको काम अघि बढाउन सकिने उनले बताए ।

“अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ,” उनले भने, “पुल, सडक र संरचना बनाउँदा कसकसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।” २ दशक पहिले निर्माण सुरु भएको मेलम्ची आयोजनाकाे पानी २०७७ साल फागुनमा पहिलोपटक काठमाडाैं ल्याइएको थियो ।

पानी पठाएकाे गरेको केही महिना  (२०७८ असार १ गते ) मै आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजना निरीक्षणका क्रममा  दुई कर्मचारीको मृत्यु समेत भएको थियो ।

सोही वर्ष कात्तिकमा आएको वर्षाले मेलम्भी आयोजनामा थप क्षति पुर्याएकाे थियो । सरकारले अस्थायीरूपमा पहुँचमार्ग निर्माण गरेर गत बैशाखमा पुनःपानी काठमाडाैं पठाएकाे थियो । झण्डै २ महिना पानी उपत्यकामा ल्याइएको भएपनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकिएकाे थियो ।

काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । २०७७ साल असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै  स्थायी समाधानमा लाग्न सकिने अवस्था रहेकाे पन्तले बताए ।

आयोजनाकाे कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी ३ भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पुर्याएको थियो ।
सरकारले २०५६ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्याे । २ वर्ष कोभिड–१९ ले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्याएकाे थियो ।


Read Previous

उपत्यका,हिमाल र पहाडमाभन्दा तराईमा बढ्यो महँगी   

Read Next

धम्जाका महिलाको आम्दानीको स्रोत ‘होम–स्टे’

Leave a Reply

Your email address will not be published.