Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

अर्घाखाँची सिमेन्टले साेमबारदेखि ७० टन भारत निर्यात थाल्याे


सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् ।

यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात गरिएको थियो । यसैक्रममा सोमबारदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १ हजार ४ सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो ।

कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगञ्जस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।

‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धी सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्नेछ’, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताए ।

त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो’, उनले भने ।

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुङ्गा खानी छैन् । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डड्र्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।

कम्पनीले ओपिसी, पिपिसी र क्लिङ्कर निर्यातका लागि आइएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिङ्कर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ । (रासस)


Read Previous

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

Read Next

सहरीबस्तीमा समावेशी विकास नभएकोमा सरोकारवालाको चिन्ता

Leave a Reply

Your email address will not be published.