Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।

यो पुल प्रयोगमा आएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनेछ । कुल ३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माणाधीन पुल भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा निर्माण सम्झौता गरेको थियो ।

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो ।

रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका–१, रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयवासीको भनाइ छ ।

पुलको कूल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कँुडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षत्रीले बताए । (रासस)


Read Previous

ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

Read Next

अर्घाखाँची सिमेन्टले साेमबारदेखि ७० टन भारत निर्यात थाल्याे

Leave a Reply

Your email address will not be published.