Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

दशैंको मुखमा अस्थायी पुलले ल्याएको खुसी


सिन्धुपाल्चोक । ‘यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो । अब त मेलम्चीवासीलाई हिँउदमा मात्रै भएपनि आउजाउ गर्न सहज भयो’, मेलम्ची ९ का राजु पुरीले भने । बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै सकस भएको थियो, गाउँमा दैनिक एक सय २० लिटर दूध संकलन गरेर मेलम्ची बजारसम्म ल्याउने गरेको उनले बताए ।

अस्थायी पुल बनेपछि मेलम्चीपारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ । गाडी प्रयोग गर्दा बाहुनेपाटी घुमेर आउनुपर्दा समय पनि बढी लाग्ने पुरीले बताए ।

जम्माजम्मी नौ महिना मात्र यातायात आवतजावतमा सहज हुने अस्थायी पुल (ह्युम पाइप) बनाउँदा नागरिकमा राहतको महसुस भएको छ । दैनिकजसो बजार आउजाउ गर्नुपर्नेका लागि सहज भएको छ । मेलम्ची नगरपालिका–९ र १० मा उत्पादन भएको तरकारी, फलफूल, दूध र मासुका लागि पशुपन्छी बजारसम्म ल्याउन सहज भएको छ ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिकाका नागरिकलाई त्यहाँबाट बजारसम्म आउजाउ गर्न सहज भएको छ । घुमेर बाहुनेपाटीको बाटो प्रयोग गर्नुपर्ने समस्या हटेपछि मेलम्ची बजारमा पनि चहलपहल बढेको छ ।

‘गाउँमा सानो किराना पसल छ । वर्षायाममा त जसोतसो गरेर मात्र चलाइयो । यो बीचको समय त धेरै कष्ठ गरेर सामान ल्याइयो बोकेर पुल तार्नुपर्ने, नबोकौँ भने बाहुनेपाटी घुमेर आउनुपथ्र्याे तर अहिले त दसँैं आएको भन्दा पनि बढी खुसी लागेको छ मलाई त’ पाँचपोखरी थाङपाल गाउँपालिका रवीन थापाको भनाइ छ ।

उनीजस्ता गाउँमा किराना पसल चलाउने, दूध संकलन गरेर बजारमा ल्याउने, तरकारी उत्पादन गर्ने सबैलाई बजारसम्मको पहुँच सहज भएको छ ।

खोलामा पानीको सतह बढेपछि असार महिनामा अस्थायी रुपमा बनाइएको पुल बगाएपछि साना गाडी मारमा परेका थिए । तीन महिनाजती गाडी नै घरमा लगेर राख्नु परेको मेलम्ची– ९ का रामकृष्ण धितालले बताए । दशैंको मुखैमा खोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा बनाइएको पुलले खुसी दिएको र तीन महिनासम्म थन्क्याइएको गाडी बल्ल गुड्न पाएको उनले बताए ।

गाउँमा संकलन हुने दूध, तरकारी तथा खसीबोका बोकेर दैनिक बजार आउने गाडी वर्षायामको तीन महिनामा त गाउँमा कोही बिरामी परे अस्पतालसम्म लैजाने र कहीकाहीँ अत्यावश्यक काम परे मात्र घुमेर बजारसम्म गएको चालक धितालको भनाइ छ । उनीजस्ता साना ट्रक चलाउनेहरुले पनि असार, साउन र भदौ महिनासम्मा आफ्ना सवारी साधन थन्क्याएर राखेका थिए ।

गत वर्षको बाढीले पक्की पुल बगाएकाले मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा ङेमा तामाङले वर्षाको तीन महिनासम्म जोहो गरेको सामानले छाक टार्न परेकोमा अहिले अस्थायी पुल बने पछि सहजै सामान लैजान सकिनेमा उनी ढुक्क छन् ।

मेलम्ची नगरपालिकाले दसँैंलाई लक्ष्य गरेर मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि आवतजावतमा सहज भएको छ । नगरपालिकाले वडा नं ११ फट्टेस्थित मेलम्ची खोलामा पुरानो मोटरेबेल पुल भएको ठाउँमा अस्थायी पुल बनाएको हो ।

ईन्द्रावती खोलामा पाँचपोखरी र इन्द्रावती जाने ठाउँमा पनि अस्थायी पुल सञ्चालनमा ल्याइएको छ । फट्टेस्थित मेलम्ची खोलामा बनेको पुलले हेलम्बु, मेलम्ची र पाँचपोखरीका नागरिकलाई यातायातको पहुँचमा सहज तुल्याएको छ भने ईन्द्रावती खोलामा बनेको अस्थायी पुलबाट पाँचपोखरी, ईन्द्रावती र मेलम्चीका वासिन्दालाई सुविधा पुगेको छ । (रासस)


Read Previous

राजनीतिमा होमिँदै कुशल व्यवस्थापक कुलमान, ऊर्जा मन्त्रीले भनिन्–‘दुवै जना चुनाव लड्दैछौ’

Read Next

चितवनको सौराहा पर्यटकको पर्खाइमा

Leave a Reply

Your email address will not be published.