

काठमाडौ । ६ अघि वर्ष लोडसेडिङको अन्त्य गरेर चर्चित बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् ।
विगत एक महिनादेखि आगामी मंसीर ४ गते आउने संसदीय चुनावमा उम्मेदवार हुन लागेको चर्चा चल्दै आएपनि घिसिङ आफैले सार्वजनिक रुपमा बताएका छैनन तर उच्च पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा शुक्रबार ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले घिसिङ राजनीतिमा होमिन लागेको स्पष्ट संकेत गरिन् ।
‘सम्भवत आगामी चुनावमा काठमाडौ उपत्यकाबाट म र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दुवै चुनावमा होमिँदै छौ, तपाईहरु पनि जुनसुकै आस्था भएपनि चुनाव सफल पार्न लाग्नुस ।’ मन्त्रीको भनाई उद्यृत गर्दै एक कर्मचारीले भने, ‘घिसिङ सरको हाउभाऊ त हो भन्ने थिएन तर मन्त्रीले भनेपछि केही हुन सक्छ ।’
मन्त्री निकट स्रोतका अनुसार, घिसिङले शुक्रबार मात्र मन्त्री भुसालसँग चुनावका विषयलाई लिएर दुई पटक छलफल गरेका थिए भने पछिल्लो समयमा पटक पटक माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटेका थिए ।
सुरुमा अध्यक्ष दाहालले माओवादीबाटै घिसिङलाई उम्मेदवार दिने विषयमा सकारात्मक भएको बताएका थिए तर पहिला माओवादीबाटै उठ्न समेत तयार भएका घिसिङले पछिल्लो समयमा आफू स्वतन्त्रबाट चुनाव लड्ने भन्दै यसका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।
माओवादीभन्दा पनि गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार दिने तयारीमा घिसिङ छन्, यसका लागि अलिकति समस्या कुन क्षेत्रको भन्ने छ । घिसिङले काठमाडौ–३ बाट उम्मेदवार हुन चाहेका थिए तर गठबन्धनले सो क्षेत्र कांग्रेसको भागमा छुटयाएको छ भने काठमाडौं–२ माओवादीको भागमा परेको छ ।
मन्त्री निकट स्रोतका अनुसार, काठमाडौ–३ माओवादीको भागमा पारेर घिसिङलाई उठाउने तयारी गरिएको छ । काठमाडौ–३ कांग्रेसले छोड्न नचाहेमा भने घिसिङको राजनीतिमा हामफाल्ने योजनामा असर पर्न नसक्ने मन्त्री निकट स्रोतले बतायो तर प्राधिकरणको कार्यकारी निर्देशक छोडेर राजनीतिमा हामफाल्नका लागि घिसिङ मानसिक रुपमा भने तयार भैसकेका छन् ।
शुक्रबार घिसिङले आफ्नो कार्य सम्पादन प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि मन्त्रालयमा व्यस्त पनि थिए । कार्यकारी निर्देशकबाट राजीनामा दिनुभन्दा अहिलेनै आफ्नो कार्य सम्पादन प्रतिवेदनको कार्य सम्पन्न गरेमा सहज हुने हुनाले उनी यसमा लागेको हुन सक्ने मन्त्रालयले स्रोतले जानकारी दियो ।
घिसिङले उम्मेदवारी दर्ता गर्ने आगामी असोज २३ गते बिहान प्राधिकरणका बोर्ड अध्यक्ष एवं ऊर्जा मन्त्री भूसाललाई राजीनामा दिएर दिउँसो उम्मेदवारी दिने सम्भावना छ ।
मन्त्री भुसालले भने आफू निकटहरुसँग घिसिङपछि बरिष्ठताको आधारमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई निमित्तको जिम्मेवारी दिने समेत बताईसकेकी छिन् ।
कार्यकारी निर्देशक घिसिङले २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि सर्वसाधारणका लागि र २०७४ सालको बैशाखदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य गरेर विद्युत माग र आपुर्ति व्यवस्थापनमा सफल भएर कुशल व्यवस्थापक बनी चर्चामा आएका थिए ।
चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन्भर । उनले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गरिन् ।
प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रवार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिइन् ।
मन्त्री भुसालका अनुसार जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन । उनले केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।
सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागीता थियो ।