Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए


अन्नपूण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै पदमार्ग पर्यटकमय बन्दै गएको हो ।

पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।’

विगतमा मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो, अब फेरी मनग्य आम्दानी हुने उनले सुनाए । अहिले दैनिक १० देखि रु २० हजारसम्म आम्दानी गर्न थालेका जानकारी दिए ।

लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताए । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उनको भनाइ छ । उनीहरु मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजंग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ संख्याका होटल व्यवसाय फस्टाउँदै गएको छ ।

पर्यटकीय याम गत भदौबाटै सुरु भएपछि सोचेजति पर्यटकको आगमन नहुँदा आम्दानी अपेक्षित नभएको व्यवसायीको भनाइ छ । विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उनको भनाइ छ ।

एक्याप पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यस पदमार्गमा सन् २०२२ मा हालसम्म ७ हजार २१३ विदेशी पर्यटकको आगमन भएको छ । तीमध्ये महिला ४ हजार ८३४ र पुरुष २ हजार ३७९ छन् । सन् २०२२ को हालसम्म आएकामध्ये सबैभन्दा बढी इजरायली पर्यटक एक हजार १७, फ्रान्सका ७७१, जर्मनीका ७०६, बेलायतका ५७८ छन् । हालसम्म ९६ देशका नागरिक यस वर्ष यो क्षेत्र भ्रमणको लागि आएका छन् ।

त्यस्तै सन् २०२१ मा यस पदमार्गमा २ हजार ३७३ मात्र विदेशी पर्यटक आएका थिए । सन् २०२० मा १ हजार ९७६ पर्यटक आएका थिए । त्यस्तै केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक आएका केन्द्रले जानकारी दिएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । यतिबेला मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ ।

पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ । विदेशी पर्यटककै हाराहारीमा यतिबेला आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको पर्यटन व्यवसायीले बताएका छन् ।

आन्तरिक पर्यटक विषेशगरी मनाङका विभिन्न स्थानमा पुगेर फर्किने गर्दछन् । त्यहाँ जाने अधिकांश आन्तरिक पर्यटक युवायुवती छन् । (रासस)


Read Previous

बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट

Read Next

सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन्

Leave a Reply

Your email address will not be published.