Nepal Purbadhar

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

२ अर्ब बढी लगानीमा भरतपुर महानगरकाे ढल व्यवस्थापन गरिने


काठमाडाैं । भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले २ अर्ब रुपैयाँ बढी लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । महानगरकाे खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम गर्न लागिएको हो ।

विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ । देशका १२ सहरमा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । तीमध्ये ५ सहरलाई पहिलो चरणमा राखिएको छ । तीमध्ये पनि भरतपुर महानगरपालिकाको काम तीव्ररूपमा अघि बढाइएको विभागका आयोजना निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार आउँदो असारसम्ममा विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरी बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएको छ । उनले भने “हामी आगामी असारसम्ममा बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाएका छौं । ढिलो भए पनि आउँदो वर्षको यतिबेलासम्म बोलपत्र भइसक्छ ।” उनले दुईदेखि तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

भरतपुर–१ देखि १२ नम्बर वडामा पहिलो चरणमा यो परियोजना सुरु गरिँदैछ । ती वडामध्ये पनि सहरी क्षेत्रमा आकाशे वर्षाको पानी व्यवस्थापन हुन नसक्दा ठूलो पानी परेसँगै सडक जलमग्न हुने गर्दछन् । धेरै सडक कालोपत्र भएको भए पनि ढल बनि नसक्दा आकाशको पानी व्यवस्थापन जटिल समस्या बन्दै आएको छ ।

उनका अनुसार वर्षातकाे पानीको व्यवस्थापन मुख्य काममा राखिएको छ । ढल निकासमार्फत पानी जम्न नपाउने गरी व्यवस्थापन गरिने छ । शौचालयबाट निकालिएको फोहरलाई प्रशोधन गरी पानी नदीमा मल बारीमा प्रयोग गर्ने तयारी गरिएको छ ।

यसैगरी, ढलमा बगेको पानीलाई सोझै नदीमा नमिसाइ प्रशोधन गरिने उनले बताए । खानेपानी नपुगेका ठाउँमा पानी पुर्याइने छ भने भइरहेका ठाउँमा स्तरोन्नति गरिने छ ।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा ढल व्यवस्थापनकाे काम गर्न लागिएको हो । उनकाे भनाइमा प्रमुख सहरहरूमा एक अर्ब ५० करोड रुपैयाँदेखि दुई अर्ब रुपैयाँसम्मको योजना तय गरिएको भए पनि भरतपुरका मुख्य सहरी क्षेत्रमा धेरै काम गर्नुपर्ने भएकाले दुई अर्ब रुपैयाँ बढीको योजना बन्ने अनुमान गरिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा वर्षातकाे पानी जम्ने समस्या जटिल बनेको र खर्चिलो हुने भएकाले सङ्घीय सरकारलाई गरिएको निरन्तर आग्रहपछि पहिलो चरणमा काम भइरहेको बताइन् । “अझै एक–दुई वर्ष दुःख भए पनि सधैँका लागि समाधान गर्ने गरी काम हुँदैछ ” उनले भनिन् ।  मुख्यरूपमा सहरी क्षेत्रमा डुबान र ढल सोझै नदीमा मिसाउनुपर्ने बाध्यताको अन्त्य हुने गरी सुन्दर सहर बनाउन यो योजना महत्वपूर्ण हुने उनकाे भनाइ छ ।


Read Previous

असोज २४ र २५ गते पहिलो हरित हाइड्रोजन सम्मेलन हुने

Read Next

कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक

Leave a Reply

Your email address will not be published.