Nepal Purbadhar

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

बिहिबार, जेष्ठ २५, २०८०
Thursday, June 8, 2023

घर जान अग्रिम टिकट लिनेको संख्या डेढ लाख पुग्यो, सोमबारदेखि रुट परमिट नचाहिने


काठमाडौं । आसन्न चाडपर्व मनाउन घर जाने अग्रिम टिकट काट्नेको संख्या १ लाख ५० हजार हाराहारी पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

‘शनिवारसम्म नै १ लाख नाघेको छ, आज बेलुका सम्ममा डेढ लाख टिकट बुक भइसक्ने अनुमान छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले भने ।

त्यसमध्ये अनलाइनबाट टिकट काट्नको संख्या न्यून रहेको उनले जानकारी दिए । ‘त्यस्तै २ हजार जनाले अनलाइनबाट टिकट काटेको अनुमान छ, कम्पनीले आन्तरिक रुपमा टिकट काट्ने हुँदा यति जनाले अनलाइनबाट टिकट काटे भनेर भन्न सकिन्न’ उनले भने ।

यातयात व्यवस्था विभागले यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको थियो । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई प्रोत्साहित गर्न यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नुपर्ने निर्णय गरेको थियो । तर, अनलाइन टिकटमा यात्रु आकर्षित भएको देखिएन् ।

भोली (सोमबार) घटस्थापनादेखि घर फर्कनेको संख्या बढ्नेछ । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात लागि १ असोजदेखि अग्रिम टिकट खुला गरेको थियो । पछिल्ला ९ दिन (आइतबार विहानसम्म) मा काठमाडौं उपत्यकाबाट करिब ३ लाख मानिस बाहिरिएको महासंघको भनाइ छ ।

फुलपातीको दिनदेखि रुट परमिट नचाहिने

सरकारले भोलीदेखि सार्वजनिक सवारी साधन सञ्चालनको लागि रुट परमिट (कुन सडकमा सवारी चलाउने भनेर लिनुपर्ने अग्रिम अनुमति) लिन नपर्ने व्यवस्था गरिसकेको छ ।

यसले आफ्नो सहजता अनुसार यातायात व्यवसायीले सावारी साधन सञ्चालन गर्न पाउनेछन् । सरकारले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्र्वाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन काम गरिरहेको छन् ।

सडकको अवस्था खराब रहको व्यवसायीको गुनासो, मर्मत भइरहेको सडक विभागको भनाई

दैनिकजसो पानी परिरहेकाले घर फर्कने सडक तथा राजमार्गको अवस्था भने राम्रो छैन । खाल्डाखुल्डी, पानी जमेको र सडकको केही भाग भासिएको वा बगाएको अवस्थामा रहेकाले यात्रुलाई सकुसल गन्तव्यमा पु¥याउन कठिन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाइ छ ।

यसको गर्दा तोकिएको समयमा गन्तव्यमा यात्रुबाहक बस नपुग्ने र सयममा छुट्नुपर्ने ठाउँमा समेत नछुट्ने गरेको छ ।

यसलाई सहज बनाउन सडक मर्मतसम्भारलाई दु्रत बनाउनुपर्ने महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । तर, सडक विभागले भने रणनीतिक सडकहरुमा मर्मत गर्ने कार्य तिब्ररुपमा गरिरहेको जानकारी दिएको छ । ‘दैनिकजसो पानी परिरहेकोले कठिनाइ भने छ’ विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ।

अघिकांश ठाउँमा मर्मत गरेर सवारी आवागमनलाई सुचारु राख्ने काम भइरहेको उनको भनाइ छ ।


Read Previous

‘२०४५ मा जिराे इमिसनकाे लक्ष्य भेट्टाउन कठिन छ ’

Read Next

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत आयोजना

Leave a Reply

Your email address will not be published.