Nepal Purbadhar

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

शुक्रबार, माघ २०, २०७९
Friday, February 3, 2023

१ हजार २११ विदेशी धार्मिक पर्यटकले नेपाली भूमिबाट कैलाश मानसरोवरको दर्शन गरे


सिमकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवर पर्वतकाे दर्शन गर्न जाने दर्शनार्थीहरूकाे संख्या बढ्दै गएकाे छ । चीनले कोभिड-१९ सङ्क्रमणकाे कारण देखाउँदै हिल्सास्थित सीमा नाका बन्द गरेपछि नेपालतर्फकाे भूमि हुँदै कैलाश मानसरोवरको दर्शन गर्न जाने विदेशी दर्शनार्थीकाे संख्या बढ्दै गएकाे हाे ।

काेभिड-१९ महामारी सुरु भएयता विशेषा गरी भारतीय दर्शनार्थीहरू कैलाश मानसरोवरको दर्शन गर्न नेपाली भूमि लाप्चा हुँदै जाने गरेका छन् । यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी वासुदेव) सहित १ हजार २११ जना विदेशी धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् ।

सदगुरुको समूहमा विभिन्न देशका दर्शनार्थीले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गरेर फर्किएका छन् । यसमा महिला ६ सय ४१ जना र पुरुष ५ सय ७० जना कैलाश मानसरोवरको दर्शनका लागि आएका सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।

यस्तै, भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका १७ नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरेका छन् । यसका साथै करिब ३ सय आन्तरिक दर्शनार्थीले पनि लाप्चाबाट दर्शन गरेका छन् ।

चीनको तिब्बत क्षेत्रमा अवस्थित मानसरोवर कैलाश हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो । मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शनगर्ने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष मानसरोवर दर्शनका लागि आएका दर्शनार्थी लाप्चाबाट दर्शन गरेर फर्किएका होटल व्यवसायी विजय लामाले बताए ।

“यस वर्ष मौसम राम्रो भएका कारण एक/दुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भए”, लामाले  भने, “एक जना पर्यटकलाई भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता हुनुपरेको थियो ।”

३ सय आन्तरिक पर्यटक    

मानसरोवर कैलाशको दर्शन गर्न आएने आन्तरिक पर्यटक भने लाप्चा पुगेर दर्शनगर्ने क्रम अझै चलिरहेको छ । ३ सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनले सद्गुरुले दुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्त्व बढेको बताए । यो वर्ष विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी  पनि मानसरोवर कैलाशको दर्शन गर्न पुगेका छन् । सदरमुकामबाट सार्वजनिक सवारीमा एकदिन लाग्ने भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

ताक्चीबाट उठाइयो बास व्यवस्था    

हुम्लाको ताक्चीमा पर्यटकका लागि बास व्यवस्थापन गर्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन् । यसपटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गरेर फर्किएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी पनि फर्किएका हुन् । ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको वडाध्यक्ष तामाङले बताए ।

ताक्चीमा करिब एक सय पर्यटन व्यवसायी खटिएका थिए । ती व्यवसायी एक महिनाअघिदेखि ताक्चीमा बसेका थिए । लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गा र ताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेकधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो ।

कैलाश मानसरोवरको दर्शनका लागि आउने पर्यटकका कारण यस क्षेत्रको आर्थिक गतिविधि बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । यसबाट सवारीसाधन सञ्चालक र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन् ।


Read Previous

बन्दीपुर केबलकारकाे ७५ प्रतिशत निर्माण पूरा,बैशाखदेखि सञ्चालनमा आउने   

Read Next

इटहरी-धरान सडक विस्तार कार्यले गति लिएन,यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती   

Leave a Reply

Your email address will not be published.