

काठमाडौं । विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन राइजरले नेपालको संघीयतालाई अझ प्रभावकारी बनाउन र हरित, उत्थानशील र समावेशी विकासको लागि सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
नेपाल भ्रमण सम्पन्न गरेका उपाध्यक्ष राइजरले नेपालमा रहँदा प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थ मन्त्री जनार्दन शर्मालगायतसँग अर्थतन्त्रको पुनस्र्थापना र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गरेका थिए ।
हरित, उत्थानशील र समावेशी विकासको लागि नेपालसँग अवसर रहेको र त्यसको लागि स्थानीय तहबाटा आवश्यक निर्णय लिन सक्नुपर्ने उनको भनाइ छ । नागरिक तहमा सेवा र रोजगारीको अवसर सिर्जना गर्नको लागि प्रदेश र स्थानीय तहलाई सशक्त बनाउनु पर्ने र त्यसको लागि विश्व वैंकले संघीय प्रणालीलाई सहयोग गर्नेछ’ उनले भने ।
विश्व बैंक समुहले उपाध्यक्ष राइजर नेपालमा रहँदा ‘राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन’ सार्वजनिक गरेको थियो । प्रतिवेदनले मोडेलिङ तथा विश्लेषणात्माक कार्यका आधारमा चार वटा प्राथमिकता प्राप्त विषयगत क्षेत्रहरुमा विशेगरी गतिविधहरु पहिल्याई कार्यान्वयन गर्न सुझाव दिएको छ ।
ती सुझावहरुमा पहिलो जल, कृषि र वनको एकिकृत अवधारणा अवलम्न, दोस्रोमा जलविद्युत अवसरको उपयोग, तेस्रोमा सहरीकरणको दीगो व्यवस्थापन र चौथोमा न्यून कार्वनयुक्त उत्थानशील सम्पर्कता (कनेक्टिभिटी) को सुदृढीकरण रहेका छन् ।
क्षेत्रिय उपाध्यक्ष राइजरले नेपाले हरित र समावेशी विकासको लागि गरेको प्रतिवद्धताको प्रशंसा गरेका छन् । अब कार्यान्वयन गर्ने क्रियाकलापको विस्तृत कार्यायोजना र प्राथमिकता पहिचान गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।
त्यसको लागि अहिलेको वित्तीय अफठ्यारोमा स्रोत खोज्ने र तीन वटै तहमा कार्यान्वयनको लागि काम गर्नुपर्नेमा जोड दिए । नेपालमा रहँदा उनले उच्च तहदेखि स्थानीय तहसम्मका सरकारका प्रतिनिधीसँग भेट गरेका थिए ।