

काठमाडौं । निर्माण सम्पन्न भएर बुझाएको ३ वर्षपछि तातोपानी सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी सम्झौता भएको छ ।
सिन्धुपाल्चोकको लार्चामा निर्माण यो सुख्खा बन्दरगाह ५ वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न करार सम्झौता सम्पन्न भएको हो । ट्रान्स नेपाल जेभी, विराटनगरले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी करार सम्झौता भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।
समितिले जारी गरेको विज्ञप्ति अनुसार ट्रान्स नेपाल जेभी र समितिबीच २९ भदौ २०७९ मा करार सम्झौता भएको हो । करार सम्झौता बमोजिम कम्पनीले ५ वर्षको लागि ११ करोड ७० लाख रुपैयाँ पट्टा वहाल रकम समितिलाई बुझाउनेछ । साथै नियमानुसार महशुल वाँडफाँड गरिनेछ ।
सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि बन्दरगाह मार्फत हुने व्यापार चुस्त, छिटो छरितो र किफायती हुने समितिको विश्वास छ ।
यसअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको तातोपानी सुख्खा बन्दरगाहको निर्माण भएको थियो । चिनीया पक्षले १३ असार २०७६ मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेको थियो ।
सुक्खा बन्दरगाह समितिलाई हस्तान्तरण भए पश्चात केही समय समितिबाट सञ्चालन तथा व्यवस्थापन भयो । पछि १६ पुस २०७६ देखि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमार्फत सञ्चालन तथा व्यवस्थापन हुदै आएको थियो ।
सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनको लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनौट गर्न समितिले ११ जेठ २०७९ मा अन्तराष्ट्रिय बोलपत्र आव्हानको सूचना प्रकाशन गर्यो । प्रकाशित सूचना बमोजिम ३ वटा कम्पनीले इच्छा देखाएका थिए ।
तिनीहरमा फ्ल्यास फ्रेइट लोजिष्टिक, ललितपु, भ्याली टर्मिनलर्स जेभी काठमाडौं र ट्रान्सनेपाल जेभी विराटनगर थिए । तीमध्ये प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबै भन्दा बढी अंक प्राप्त गरीे ट्रान्सनेपाल जेभी विराटनगर छनौट भएको समितिले जानकारी दिएको छ ।
ट्रान्सनेपाल जेभी विराटनगर ट्रान्सनेपाल फ्रेइट सर्भिसेज र सिल्क ट्रान्सपोर्टको संयुक्त उपक्रम हो ।